पैसरी खेल एक चिनारी

गणेशप्रसाद रेग्मी

पश्चिम नेपालको दैलेख जाजरकोट, रुमुम र सल्यान जिल्लामा यो खेल पहिले देखि नै खेलिने खेल हो । यस स्थानका वासिन्दाहरुको योे परम्परादेखि यो खेल प्रचलनमा रहेको छ । मादलको तालमा जीउलाई निहुराएर मजुरा र दमाहका साथ यो खेल खेल्ने चलन छ ।
कम्तीमा ५ जना मानिस लाइनमा वसी खेल खेल्ने प्रचलन रहेको भएता पनि ५ जना पुरुष र ५ जना महिलाहरु लाइनमा वसी अर्ध चन्द्राकार रुपमा रेखा वनाएर जीउलाई ६०० को कोण बनाएर खेलको सुरु गरिएको हुन्छ । दुइ जना मादलेहरुले मादको ताल दिएर यो खेल सुरु गरिन्छ । साथमा मजुराको तालमा गुरुको इसारामा खेलको शुरुवात गरिएको हुन्छ । अगुवाको तालसँगै अरु खेलाडीहरुले आफ्नो नाच सुरु गरेको पाइन्छ ।
मादल बजाउने मानिसले सवै खेलको अगुवाइ गर्नु पर्दछ । खास गरी खेलाडीले हातखुट्टा एकैचोटी संचालन गरेर टाउको र ढाडलाई एकै साथ झुकाएर खेल खेल्ने चलन रहेको छ । गोडाको चाल लचकदार हुनु पर्दछ । तालिम प्राप्त खेलाडीले आफ्नो खेलको ताल दिएका हुन्छन् । आफ्नो जीउलाई वङ्ग्याएर ३००–६०० सम्मको कोण बनाइएको हुन्छ । मादल बजाउनेले पनि आफ्नो पूर्ण कलाको प्रदर्शन गरेका हुन्छन् । खेललाई १२ भागमा विभाजन गरिएको हुन्छ । १२ भाग भन्नाले खेलमा नाच्ने तरीकाहरुलाई विभाजन गरिएको हो । खेल हेर्ने हरुले पनि खेलको शैलीलाई साथ दिइएका हुन्छन् । मादल बजाउनेले मादलकै तालमा खेल सकिन लागेको संकेत दिन्छन् । खेलका मुख्य गुरुद्धारा विस्तारै खेललाई छाड्न संकेत प्रदान गरेका हुन्छन् । १५–२० मीनेटको आराम पछि खेल पुन सञ्चालन हुन्छ । गुरुको इसारा वीना खेल छोड्न वा टुंग्याउन पाइदैन ।
यो खेल खेल्न विशेष अवसर पर्नु पर्दछ । दशै पछिको पूर्णिमाको दिनमा यो खेल अनिवार्य रुपमा खेल्ने प्रचलन दैलेख जिल्लामा छ । त्यसपछि तिहारको दिनमा टीका लगाई सकेपछि भैली, देउसीका साथै खेल खेल्न शुरु गरिएको हुन्छ । गाँउको मुख्य जेष्ठ नागरिकको घरमा यो खेल शुरु गरी गाँउ भरि खेल खेल्ने चलन रहेको छ । यसका अतिरिक्त गाउघरमा कसैको घरमा कुनै प्रकारको उत्सव, विबाह, छैठी, रुद्री कथाको दिनमा खेल खेल्ने प्रचलन रहेको छ । घरमा जम्मा भएका गाउघरका मानिसलाई भोज भतेर खुवाएर यो खेल खेल्न शुरु गरिएको हुन्छ । खेल खेल्न विशेष सामग्री केही चाहिदैन मादल बजाउने मजुरा बजाउने तथा थाली भरी रातो टीका घरका मालिकले लगाएपछि खेलको सुरुवात हुन्छ ।
दौरा सुरुवालमा चिटिक्क परेको स्टकोट र ढाकाको टोपीमा सजिएका यूवा दस्ता तथा उमेर ढल्किन लागेका ब्यक्तिहरुको निर्देशनमा खेल खेल्न शुरु गरिएको हुन्छ । खेल खेल्नका लागि मादल, मजुरा अथवा दाहिने देव्रे दमाहाको आवश्यकता पर्दछ । यो दैलेख जिल्लाको पूर्वी भाग पग्नाथ, रुम, मेहेल्तोली, जगनाथ ,कट्टी, वडाभैरव गाविसमा बढी खेल्ने गरिन्छ भने जाजरकोट रुकुमका सवै स्थानहरुमा खेल खेल्ने प्रचलन रहेको छ । खेल खेल्दा विशेष गरी रामायण र गीतामा लेखिएका कथाहरुलाई भाकाको रुपमा गाउने प्रचलन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार